प्रचण्डलाई ओलीको सन्देशः शीरमा जनयुद्ध, शरीरमा ५०/५० हुन्न !

काठमाडौं । चैत १३ गते अपरान्ह नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कार्यदलमा रहेका एमाले नेताहरूलाई बालुवाटारमै भेला गरे ।

संगठन तथा अन्तरिम विधान मस्यौदा कार्यदलमा रहेका ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल लगायतका नेता बालुवाटार पुगेका थिए । कार्यदलमा भइरहेको छलफलको जानकारी लिएपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘क्लियर कट’ शब्दमा भने, ‘जनयुद्ध र ५०/५० हुन्न । यो कुरा मैले प्रचण्डलाई भनिसकेको छु ।’

ओलीको यो बटमलाइन त्यतिबेला आयो, जतिबेला प्रचण्डले समान (५०/५०) हैसियतमा मात्र एमालेसँग एकीकरण हुने बताएपछि एमाले पंक्ति तरंगित भइरहेको थियो । एमाले नेताहरूले विधानको प्रस्तावनलाई पार्टी जीवनको शिर र कमिटीलाई शरीर भनेका छन् ।

शिरमा जनयुद्ध बोकेर शरीरमा ५०/५० को एकता एमालेले मानेको छैन । जनमतलाई आधार मानेर संगठनको सम्मानजनक एकता गर्ने तर प्रतिशत नभन्ने एमालेको जोड छ । चुनावमा ६०/४० को तालमेल गरेर ७०/३० को जनमत आइसकेको अवस्थामा ५०/५० को तुरूपले पार्टी एकता पेचिलो बनेको एमाले नेताहरूको विश्लेषण छ ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सँगै राखेर विधानको प्रस्तावनामा जनयुद्ध नराख्ने र केन्द्रीय कमिटीदेखि तलसम्मै ५०/५० प्रतिशतको हैसियतमा एकीकरणको प्रस्ताव मान्य नहुने बताएपछि कार्यदलका एमाले नेताहरूले नेतृत्वको मुड बुझे ।

त्यही दिन गृहमन्त्रालयमा बसेको कार्यदलको बैठकले जनयुद्ध, चुनाव चिह्न र केन्द्रीय कमिटीको एकीकरणको मापदण्ड बिना नै प्रतिवेदन तयार पारेर पार्टी एकता संयोजन समितिलाई बुझाउने निर्णय गर्‍यो ।

संयोजन समितिमा समेत रहेका नेताहरू ईश्वर पोखरेल र रामवहादुर थापा सहितको कार्यदलले टुंगो नलगाएको यो विषय नै पार्टी एकतामा सबैभन्दा पेचिलो मुद्दा बनेको छ ।

ओलीः भित्र कडा, बाहिर चुपचाप

प्रचण्डले जसरी केपी ओलीले सार्वजनिक रूपमा पार्टी एकताका सन्दर्भमा आफ्नो बटमलाइन राखेका छैनन् । उनी अहिले मात्र होइन, एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया सुरु भएदेखि नै सार्वजनिक अभिव्यक्ति दिँदा जोगिँदै आएका छन् ।

कहिले ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै हुनुपर्छ भन्ने त कहिले शंकर पोखरेलले दुवै नेता अध्यक्ष रहने कार्ड फाले तर, ओली बोलेनन् । यसपटक पनि ओलीले आफ्नो बटमलाइन कार्यदलमा रहेका नेतालाई सुनाए । आफूले कहीँ कतै भाषण गरेनन् ।

प्रचण्डले समान हैसियतमा एकताको कुरा गरेपछि ओलीले बालुवाटारमै बोलाएर कुराकानी पनि गरे । तर, प्रचण्डले प्रस्ट कुरा नगरेको स्रोतको दाबी छ । यसको अर्थ प्रचण्ड एकतापछि राज्यसत्ता र पार्टी सत्तामा आफ्नो पोजिसनबारे अझै आश्वस्त हुन चाहन्छन् ।
त्यो पनि आश्वासनमा होइन ।

ओलीले भने जनयुद्ध स्वीकार गरिन्न भनेर आफूले प्रचण्डलाई पहिले नै भनिसकेको र ५०/५० को आधारमा एकीकरण हुन नसक्ने पनि बताइसकेको एमाले नेताहरूलाई सुनाएका छन् । चुनाव चिह्नका सन्दर्भमा धेरै ठूलो विवाद नहुने ओलीले बताएका छन् ।

हात्ती छिर्‍यो, पुच्छर अड्क्यो

नेपालका कम्युनिस्ट पार्टीहरूको विभाजन र एकीकरणको शृंखला हेर्ने हो भने चीनका नेता माओकी कान्छी श्रीमतीलाई हेर्ने दृष्टिकोणमा गम्भीर मतभेद भएर फुट्ने गरेका छन् ।

मरिसकेका स्टालिन ७० प्रतिशत ठीक थिए कि ३० प्रतिशत भन्ने विवादले मोहन विक्रम सिंह र नारायणकाजी श्रेष्ठहरू फुटेका हुन् ।

अल्बानियन कम्युनिस्ट नेता अनबर होग्जा र पेरुको क्रान्तिलाई हेर्ने दृष्टिकोण नमिलेर विभाजन हुने गरेका छन् । तर, एमाले माओवादी एकीकरणका सन्दर्भमा सैद्धान्तिक विवाद कार्पेटमुनि छोपिएको छ ।

मूलतः सत्ता र पार्टी नेतृत्वमा दुवै पक्ष केन्दि्रत छन् । यतिसम्म कि जनताको बहुदलीय जनवादलाई मन, वचन र कर्मले बोक्ने हो भने प्रचण्डलाई अर्को महाधिवेशनबाट अध्यक्ष स्वीकार्न ल्याप्चे लगाएर दिनेसम्मका सन्देश एमाले नेताहरूले पठाएका छन् ।

त्यसैले पार्टी एकताका सन्दर्भमा अहिले पेचिलो बनेका तीन विषय जनयुद्ध, आधा आधा हिस्सा एवं चुनाव चिह्न बहाना मात्र हुन् । साँच्चिकै समाधान गर्न कठिन विषय होइनन्, यसको अन्तर्यमा दुवै पक्षको ‘भय’ लुकेको छ । र ‘हात्ती छिर्‍यो, पुच्छर अड्क्यो’ को अवस्थामा पुगेको छ । यसको मुख्य कारण विगतमा केपी ओलीबाट धोखा पाएको गुनासो गरिरहेका प्रचण्डले यसपटक पार्टी एकता नै गर्ने सन्दर्भमा भविष्यको सुरक्षा र सुनिश्चिता खोजेका छन् ।

माइती घरको सहमतिबाट जब प्रचण्ड फर्किए

चुनाव चिह्न सूर्यमा माओवादी अध्यक्ष प्रचण्ड गत दशैंको टीकाकै दिन सहमत भइसकेका हुन् ।

माइतीघरस्थित नवीन कँडेलको घरमा ओली र प्रचण्डबीच ६०/४० को अनुपातमा उम्मेदवार उठाउने र दुवै पार्टीले सूर्य चिह्नबाट चुनाव लड्ने लिखित सहमतिमा हस्ताक्षर भएको थियो । त्यो हस्ताक्षरको ऐतिहासिक क्षणको तस्बिर जनार्दन शर्मासँग सुरक्षित छ । हस्ताक्षरका साक्षी एमाले नेता विष्णु पौडेल र जनार्दन शर्मा थिए ।

धेरै पटकका वार्तापछि ओली र प्रचण्ड पार्टी एकता गर्ने सहमतिमा पुगेका थिए । सहमतिको मस्यौदा पौडेल र शर्माले नै तयार पारेका थिए । दुवै नेताले यो सहमतिमा हस्ताक्षर गरेर आफैं बोक्नुस् र पार्टीमा अनुमोदन गराउनुस् भन्दा प्रचण्डले हस्ताक्षर गरिहाल्नु र ? भन्ने प्रश्न गरेका थिए ।

नभन्दै भोलिपल्ट साथीहरूलाई मनाउन सकिन भन्दै प्रचण्ड सूर्य चिह्नबाट चुनाव लड्ने सहमतिबाट पछि हटेको प्रसंग सम्झिनेहरू अहिलेका तीन मुद्दालाई माइतीघर फर्केर विश्लेषण गर्दै छन् । त्यो सहमतिको कागज प्रचण्ड र ओलीले आ-आफ्नो खल्तीमा हालेका थिए । ओलीले तत्कालै पार्टीबाट पारित गराए तर प्रचण्ड ब्याक भए ।

‘त्यो बेला पनि प्रचण्डले हस्ताक्षर नै गर्ने र ? भनेर संशय देखाएको भोलिपल्टै ब्याक भए, भन्नलाई साथीहरू मानेनन् भने पनि प्रचण्डको मन नमानेको हो’ एमालेका एक नेताले भने, ‘अहिले ५०/५० पनि प्रचण्डको मनको डर बोलेको हो ।’

एकता विरोधी भइन्छ भनेर कोही पनि नेता औपचारिक रूपमा बोल्न चाहँदैनन् तर, देखिने भन्दा नदेखिने केही विषयको टुंगो नभएसम्म पार्टी एकता धकेलिँदै जाने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता गर्ने प्रयास असफल भयो । अहिले वैशाख ९ गते एकीकरण गर्ने भनिए पनि ओली र प्रचण्डबीच छलफल नभई यो प्रक्रिया निष्कर्षमा पुग्न कठिन छ ।

एमाले र माओवादीबीच ५०/५० मा एकीकरण हुने देखिन्न ।

४० प्रतिशत पनि गुम्ने प्रचण्डको भय !

प्रचण्डको मनमा उत्पन्न भएका केही संशयहरू निवारण भएमा अहिले विवादित भनिएका तीन विषयमा समाधान टाढा छैन ।

जनयुद्ध नेपालको इतिहासको यथार्थ हो । रामवहादुर थापा कार्यदलले गठन गरेको वर्षमान पुन र बेदुराम भुसाल उपसमितिमा पुनले जनक्रान्ति शब्द राख्न सहमत भएको र जनार्दन शर्माले जनयुद्ध भन्ने शब्द नै राख्नुपर्ने अडान लिएपछि नमिलेको एमाले नेताहरूको दाबी छ ।

सूर्य चिह्नमा प्रचण्ड सहमत भइसकेकै हुन् । मुख्य कुरा प्रचण्डले भनेको समानतामा आधारित एकता हो ।

त्यो भनेको केन्द्रीय कमिटीमा एमाले र माओवादीको आधा आधा हिस्सा । पार्टी एकीकरणपछि आफू निर्णायक  हैसियतमा नरहने चिन्ता प्रचण्डमा छ । पार्टी सत्ता र राज्यसत्तामा आफ्नो पकड गुम्ने गरी प्रचण्ड एकीकरणको नाममा आत्महत्या गर्न चाहँदैनन् ।

अहिले ६०/४० वा ७०/३० को आधारमा एकीकरण गर्दा पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर प्रचण्डले ४० प्रतिशतको हैसियत गुमाउनेछन् । राजनीतिका सदावहार निर्णायक खेलाडी प्रचण्ड आफ्नो राजनीतिक एवं वैधानिक दुवै हैसियत बलियो नहुने गरी एकीकरणको खतरा मोल्न चाहँदैनन् ।

केपी-माधव निकटताले निम्त्याएको डर

प्रचण्ड झस्किनुको अर्को कारण एमालेमा केपी ओली र माधव नेपालको बढ्दो निकटता पनि हो ।

माओवादीभित्र सधैं दोस्रो तहका नेताहरूलाई एक अर्काबीच लडाएर आफू गुटभन्दा माथि बस्दै आएका प्रचण्ड एकीकरणपछि एमाले समूहभित्र खेलेर ओलीभन्दा बलियो बन्न चाहन्छन् । एमालेमा ओलीबाट पेलिएका नेताहरूको साथ पाउने प्रचण्डको अपेक्षा स्वाभाविक हो ।

गत साता एमाले नेता झलनाथ खनालले आफ्नो घरमा आफू निकट केन्द्रीय सदस्य र युवा नेताहरूको भेला गरे । उनले त्यहाँ माधव नेपाल र ओली मिल्न लागेको भन्दै अब पार्टीभित्र अर्को गुटको नेतृत्व आफूले गर्ने संकेत दिए । तर माधव नेपाल र ओली मिल्दा एमालेको आधिकारिक धार उनीहरू नै हुने कुरा प्रचण्डले बुझेका छन् ।

ओली नेपालको निकटता प्रचण्डको लागि त्रास बनेको छ । यसबीचमा पार्टी एकता नहुँदै पनि प्रचण्डले एमालेका विशेष गरी ओली विरोधी समूहका नेताहरूसँग विभिन्न चरणमा छलफल गरेका छन् । उनीहरूको नेतृत्व गर्न आफू तयार रहेको सन्देश पनि दिइसकेका छन् । तर, एमाले पंक्तिको मनोविज्ञान ओलीलाई साइजमा राख्न प्रचण्डलाई सघाउनेसम्म पुग्ला तर, भोलि छुट्टनिे तहमा जाँदैनन् भन्ने माओवादीले बुझेका छन् ।

प्रचण्डले समानतामा आधारित एकता भन्नुको चूरो कुरो पनि त्यही हो । भोलि संसदीय दलमा पनि ४० प्रतिशत नहुने र केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत नहुने अवस्था आयो भने प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफ्नो हातमा नहुने ‘भय’ प्रचण्डमा छ । उनको यो ‘भय’ हटाउन ओली र माधव नेपालले कति मेहनत गर्छन्, त्यसले एकता चाँडो हुने वा धकेलिने निर्धारण गर्छ ।

के हो समानतामा आधारित एकता ?

समानतामा आधारित एकताले एमाले र माओवादी दुवै पंक्तिमा तरंग पैदा गरेका बेला अन्तरिम विधान र संगठन एकीकरणको प्रस्ताव तयार पार्ने कार्यदलका सदस्यसँग हामीले प्रस्ट हुन चाहृयौं । त्यसअघि हामीले पार्टी एकता अभियानका सुरुदेखि नै सहजकर्ता विष्णु पौडेलसँग पनि भेट्यौं । उनले पार्टी एकीकरणमा प्रतिशत उल्लेख नभए पनि जनमत र संगठनलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै एकतामा असर पर्ने कुरा नगर्ने बताए ।

त्यसपछि हामीले कार्यदलमा रहेका माओवादी नेता जनार्दन शर्मा र एमाले नेता बेदुराम भुसाललाई सौध्यौं, के हो समानतामा आधारित एकता ?

एउटा २ सय, अर्काको ९९ हुँदैन

जनार्दन शर्मा,माओवादी नेता

हाम्रो पार्टी अध्यक्ष प्रचण्डले कसरी पार्टी एकता हुन्छ भन्ने जिज्ञासा आएपछि समानताको आधारमा एकता हुन्छ भन्ने स्पिरिटको आधारमा भन्नुभएको हो । त्यसको सैद्धान्तिक पाटो भनेको समानताको आधारमा दुई पार्टीको एकता हुन्छ । हामी एक अर्कामा विलय हुने होइन, दुई मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्ने हो । तालमेलका बोला हामीले प्रतिशत भन्यौं तर अब पार्टी एकता भनेको प्रतिशतको कुरामा होइन, समानताको आधारमा हुन्छ । नम्बर र प्रतिशतको आधारमा पार्टी कमिटीको एकता हुँदैन । यसको अर्थ ६०/४० पनि होइन ५०/५० पनि होइन । एकतामा दुवै पक्षले बटमलाइन राखेर हुँदैन । हाम्रो अध्यक्षले बटमलाइन पनि भन्नुभएको छैन ।

पार्टी एकता गरिरहँदा एक दुईजना कसको घटी कसको बढी हुन सक्छ तर, २ सय ९९ मा २ सय एउटाको ९९ अर्काको भनेर एकीकरण हुँदैन ।
प्रतिशतमा बाँडफाँट हुँदैन । दुईटा पार्टीको संगठन र संरचना छन् । हाम्रा विचार र नीति छन् । त्योभन्दा ठूलो हाम्रो लक्ष्य छ । हाम्रो लक्ष्य समान छ भने त्यो लक्ष्य र सिद्धान्त प्रतिशतमा बाँडिन्छ र ? समान लक्ष्य राखेर हिडेपछि संगठन मिलाउँदा व्यावहारिक पक्ष, मनोविज्ञान, समानता, जनमत आदि सबै हेरिन्छ । एउटाले जितेको र अर्कोले हारेजस्तो हुँदैन । एउटाले जितेर अर्कोले हारेको जस्तो बनाइयो भने त्यहाँ एकताको स्पिरिट व्यक्त हुँदैन ।

संख्यामा समानता हुन्न

बेदुराम भुसाल, एमाले नेता

हामीले केन्द्रीय कमिटीको संख्या सिफारिस गरे पनि कसको कति भनेर सहमति भएको छैन । तर अहिले माओवादी कमरेडहरूले समानताको आधारमा एकीकरण हुनुपर्छ भनिरहनुभएको छ । समानता भनेको विचार, सिद्धान्त, नीति र दृष्टिकोणमा हुन्छ ।

संख्यामा समानता हुँदैन । संख्याचाहिँ कुन पार्टीले कति मत ल्याएको छ ? कसको जनाधार बढी छ ? कसको संगठन ठूलो छ भन्ने आधारमा निर्धारण हुन्छ । संख्यामा समानता भएर विगतमा एकीकरण भएको छैन ।

हालसालै माओवादी केन्द्र र नेकपा संयुक्तको एकीकरण समानतामा आधारित एकता थियो ? बादलजीहरू र नारायणकाजीहरूसँगको एकता समानतामा आधारित हो ? संख्या जनाधारमा हुन्छ । विगतमा कहिल्यै पनि संख्यामा समानता भएर एकीकरण भएको छैन ।

उहाँहरूले २०४७ मा माले माक्र्सवादी एकीकरण हुँदा समान संख्या थियो भनिरहनुभएको छ । यस बारेमा बुझ्नुपर्ने कुरा के हो भने त्यो बेला राष्ट्रिय परिषद् कार्यकारी कमिटी थियो त्यहाँ मालेको बहुमत थियो । केन्द्रीय कमिटीमा माक्र्सवादका मनमोहन, भरतमोहन, साहना, सिद्धिलालजस्ता सिनियिर नेताहरू धेरै भएकाले बराबरी गरिएको हो । जिल्ला कमिटीहरू दुई तिहाइ मालेकै नेतृत्वमा बनेका थिए । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस

तामाकोशी सेयर “नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार”, -आनन्द पोखरेल 

रेडियो सैलुंग दोलखा ४५६ मेगावाटको राष्ट्रिय गौरवको  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बारेमा थाहा नपाउने नेपाली विरलै होलान । आज यो आयोजनाको

भारत सम्बन्धका उतारचढाव र प्रधानमन्त्रीको भ्रमण

  भारत सम्बन्धका उतारचढाव र प्रधानमन्त्रीको भ्रमण एकराज पाठक विसं ०६५ असोजको पहिलो साता भारत गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल

महाभारतकी कुन्ती-२२

महाभारतकी कुन्ती-२२ हरिविनोद अधिकारी/ जीवन भनेको भोगाइ रहेछ । जस्ले जस्तो भोग्यो, त्यस्तै धारणा बन्दो रहेछ । मलाई बाहिरबाट सबैले शान्त देख्छन्, धैर्य